वीरगन्ज- पर्साको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २४ देखि उनको वीरगन्ज हेल्थ केयरमा उपचार हुँदै आएको थियो । ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्याबाट ग्रसित उनलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।
पर्सामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर भने यो समाचार तयार पार्दासम्म १ सय ४८ जनाको मृत्यु भएको छ।
