काठमाडौं- धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १५ का ६७ वर्षीय पुरुषको आज दिउँसो सवा १२ बजे मृत्यु भएको हो।
एन्फा क्वारेन्टाइन धरानबाट रिफर गरिएका उनको २७ साउनमा प्रतिष्ठानमा भर्ना गरेर उपचार भइरहेको थियो। भर्ना गरेकै दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
क्वारेन्टाइनमा रहेको बेला अत्यधिक खोकी, श्वास फेर्न समस्या र एकहप्तादेखि ज्वरो आएपछि भर्ना गरिएको थियो।
मृतक बिरामीमा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।
मृतको शव नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको प्रतिष्ठानले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
