काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि नेपाली सेनाले पृतनालय र ब्यारेकहरुभित्रै आइसोलेसन कक्ष निर्माणको तयारी अघि बढाएको छ।
बढ्दो संक्रमणसँगै सैनिकमा पनि संक्रमण देखिन थालेपछि सेनाले आइसोलेसन कक्ष बनाउने आन्तरिक तयारी थालेको हो। जंगी अड्डाले देशैभर रहेका पृतनालयहरुलाई आवश्यक तयारी थाल्न निर्देशन दिइसकेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख (सैनिक प्रवक्ता) एवं सहायक रथी सन्तोष वल्लभ पौडेलले बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राखेर आन्तरिक रुपमा तयारी अघि बढाइएको जानकारी दिए।
“लक्षण नदेखिएका संक्रमित सैनिक कर्मचारीहरु राख्नका लागि आइसोलेसन बनाउने तयारी अघि बढाइएको छ,” उनले भने, “हाम्रा पृृतनालयहरुलाई त्यसको आवश्यक तयारी गर्न निर्देशन भइसकेको छ।”
उनका अनुसार पृतनालयभित्र र आवश्यक ब्यारेकहरुमा आइसोलेसन बनाउनका लागि अध्ययन भइरहेको छ।
“आइसोलेसन क्वारेन्टिनजस्तो होइन, नितान्त संक्रमित राख्ने गरिन्छ। त्यसका लागि स्वास्थ्यकर्मीहरु सहितको मापदण्ड सबै चाहियो,” उनले भने, “त्यसै अनुसार कहाँ के कति आइसोलेसन निर्माण गर्न सकिन्छ। त्यसको काम भइरहेको छ।”
अस्पतालहरुमा संक्रमित बिरामीहरुको चाप बढेपछि सेनाले आफ्नै ब्यारेकमा आइसोलेसन बनाउन थालेको उनले बताए।
“संक्रमित भएका सैनिक कर्मचारीलाई अन्यत्र अस्पताल लैजानुभन्दा भित्रै आइसोलेसन बनाउन सके राम्रो हुन्छ भनेर हामीले तयारी अघि बढाएका हौं,” उनले भने, “भित्रै स्वास्थ्यकर्मीहरु राखेर उपचार गर्न सकिन्छ। गम्भीर लक्षण देखा परेमा मात्रै अस्पताल लैजाने गरेर अन्यलाई भित्रै राख्न सकिन्छ।”
अहिले नेपाली सेनामा संक्रिय संक्रमितहरु भने बाहिरकै अस्पतालको आइसोलेसनमा राखिएका छन्।
सहायक रथी पौडेलले महोत्तरीको बर्दिबासमा २० जनालाई राख्न सक्ने क्षमताको आइसोलेसन कक्ष तयार भइसकेको बताए। त्यही मोडलमा अन्यत्र पनि बनाउन लागिएको हो।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ५० जना क्षमताको आइसोलेसन कक्ष यसअघि नै स्थापना गरिसकिएको छ। उपत्यकाको पृतनाले पनि आइसोलेसन कक्ष बनाउने विषयमा काम अघि बढाइसकेको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता पौडेलका अनुसार १३ जेठदेखि अहिलेसम्म नेपाली सेनामा २८४ जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ९४ जना संक्रमणमुक्त भइसकेका छन् भने १९० आइसोलेसनमा उपचाररत छन्।
प्रदेश २ का जिल्लामा कार्यरत सैनिक सबैभन्दा धेरै संक्रमित छन्। उक्त प्रदेशमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत सैनिकमा धेरै संक्रमण देखिएको हो। त्यस्तै मध्यपश्चिम पृतनालय अन्तर्गत जुम्ला, प्युठान, नेपालगञ्ज क्षेत्रमा पनि संक्रमण देखिएको छ। उपत्यका क्षेत्रमा पनि संक्रमित पुष्टि भए पनि संख्या न्यून छ।
कन्ट्याक्ट ट्रेसिङको आधारमा नेपाली सेनाले आफ्नै प्रयोगशालामा परीक्षण गरिरहेको छ। नेपाली सेनाका पृतनालय र ब्यारेकहरुमा आवश्यक क्वारेन्टिन पनि निर्माण गरिएका छन्।
