बिहीबार, भदौ ११, २०८३

पोखरामा ‘होम आइसोलेशन’ मा रहेका आठ जना संक्रमणमुक्त

'२७ जना घरमै आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ।'
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

कास्की-  पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बागवानी अनुसन्धान केन्द्रका अधिकृत सरोज अधिकारीलाई साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो।

सामान्य रुघाखोकी लागेपनि अन्य कुनै लक्षण नभएका उनी कार्यालयको क्वार्टरमै ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले अस्पताल नगई ‘निवास’मै बसे।

परिवारबाट अलग रहन पनि उनलाई क्वार्टरमा सजिलो भयो। संक्रमण पुष्टि भएको १२ औं दिनमा उनी संक्रमण मुक्त भइसकेका छन्।

“आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुदेखिनै दृढ थिँए,”  उनले भने, “शक्तिवर्धक खानेकुरा, मासु, क्वाटीको झोल खाएँ।  अहिले निको भएको छु।”

आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको उनी बताउँछन्।

आफूले  व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित हुने उनको अनुभव छ।

होम आइसोलेशनमा बस्नेको उपचारको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको अधिकारीले बताए।

अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा रहेका आठ जना शुक्रबार कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

अस्पतालमा पर्याप्त कक्ष नभएपछि पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु होम आइसोलेशनमा थिए।

होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरु पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक/एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

“सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएका र होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना घरमै आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ,” महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने।

होम आइसोलेशनमा रहेकाहरुले नियमित तापक्रम जाँच गरी स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको तथा स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पताल ल्याउने गरिएको उनले जानकारी दिए।

पोखरामा अस्पतालका सबै आइसोलेशन कक्ष बिरामीले भरिएका कारण सामान्य लक्षण भएकाहरुलाई घरमै राखिएको महाशाखाले जनाएको छ।

घरमा आइसोलेशनमा बस्ने सङ्क्रमित तथा उनीहरुका परिवारका सदस्यहरु उपचार अवधिभर घर बाहिर ननिस्कने,  पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा झोलिलो तथा पोसिलो खानेकूरा खाने तथा स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।

कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका विरामी (सक्रिय केस) को सङ्ख्या १०७ रहेकामा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग उपचार अस्पतालमा सङ्क्रमितको उपचार हुँदै आएको छ। -रासस

प्रकाशित: Aug 22, 2020| 13:02 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।