काठमाडौं– सरकारले विपत्बाट मृत्यु भएका व्यक्तिको परिवारलाई दुई लाख दिने भएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बाढी, पहिरोलगायत विपत्मा घाइते भएकाहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने जानकारी गराएका हुन्।
परिवारमा एक जना मृत्यु भए दुई लाख र अन्य सदस्यको पनि मृत्यु भए प्रतिव्यक्ति एक लाखका दरले थप दिइने खतिवडाले बताए।
त्यसैगरी सरकारले बाढी, पहिरोबाट घरबास गुमाएका भए ५ जनासम्मको परिवारलाई तत्काल राहतस्वरुप १५ हजार र त्योभन्दा बढी भए २० हजार दिने भएको छ।
घर पूर्णरुपमा क्षति भएको र नयाँ घर बनाउनुपर्ने भए प्रतिपरिवार एक लाख उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
क्षति भएको घर पुनर्निर्माणको लागि जिल्ला वन कार्यालयबाट काठ पनि उपलब्ध गराइने छ।
