काठमाडौं– एकजना कोरोना संक्रमित पत्ता लगाउन १ लाख रुपैैयाँभन्दा बढी खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले एक जना कोरोना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार ६२० रुपैयाँ खर्च गरेको बताए।
नेपालमा हालसम्म ५ लाख ७९ हजार ८९९ पीसीआर परीक्षण गरिएकोमा ३० हजार ४८३ पोजेटिभ केस देखिएका छन्। एक जनाको पीसीआर परीक्षण गर्न सरकारले ५ हजार ५०० खर्च गरेकाले एक संक्रमित पत्ता लगाउन १ लाखभन्दा बढी खर्च भएको गौतमले बताए।
सरकारले पीपीई बाहेक ल्याबमा मात्रै सो खर्च गरेको हो। प्रवक्ता गौतमले परीक्षणपछि उपचार खर्च पनि निकै महँगो भएकाले लापरबाही नगर्न सबैलाई आग्रह गरेका छन्। जनस्वास्थ्यका मापदण्ड पालन गर्न उनले पुनः आग्रह गरे ।
