काठमाडौं– तीजमा हिन्दु नारीमात्र व्रत बस्छन् भन्ने आमधारणा छ। तर, लामो समयदेखि व्रत बसेर तीज मनाउँदै आएका पुरुषहरु पनि छन्।
यस्तै पुरुष हुन् डा. क्षितिज बराकोटी। तीजमा पुरुषले व्रत किन ? बराकोटीले भने, ‘पतिपत्नीबीच थप आत्मीयता बढाउन।’
तीजको दिन उनको दैनिकी पत्नीसँगै बित्छ। बिहान उठ्ने, पूजापाठ गर्ने, सँगै मन्दिर जाने, पूजा गर्ने, बेलुका सँगै व्रत तोड्ने।
उनले भने, ‘तीज महिलाका लागि भन्ने धारणा गलत हो। महिला र पुरुषले सँगै मनाउनुपर्छ भन्ने सोचाइले व्रत बस्दै आएको छु।’
कतिपय पुरुष तीजका बेला फुक्का महसुस गर्छन्। पत्नी माइत जाने भएकाले घरमा आफूखुसी गर्न पाइने हुँदा भट्टीतिर छिर्नेको पनि संख्या कमी छैन।
उनले भने, ‘यो गलत प्रवृत्ति हो। नारी र पुरुष जति सँगसँगै काम गर्यो उति नै आत्मीयता बढ्छ। व्रत–उपासना त आध्यात्मिक कुरा हो। यस्ता कार्य सँगै गर्दा सम्बन्ध थप मजबुुत बनाउँछ।’
धार्मिक तथा आध्यात्मिक दृष्टिले व्रतको जति महत्त्व छ, त्यत्तिकै महत्त्व स्वास्थ्यका दृष्टिले पनि रहेको बराकोटी बताउँछन्। उपवास बस्दा शरीरका नेगेटिभ सेल्सहरू निष्क्रिय हुने योग तथा प्राकृतिक चिकित्सकसमेत रहेका उनले बताए।
डा. बराकोटी बिहे गरेको दुई वर्षपछि व्रत बस्न थालेका हुन्। उनले पहिलो वर्ष त पत्नीलाई थाहै नदिई व्रत बसेका थिए।
व्रत बस्दा महिलालाई जति कठिन हुन्छ। पति पनि सँगै बस्दा त्यस्तो अनुभवै नहुने उनकी पत्नी मीना बताउँछिन्।
‘त्यो वर्षको तीजमा उहाँ बिहानैदेखि खान मान्नुभएको रहेनछ। बेलुका मात्र खान्छु भनेर बस्नुभएको रहेछ। त्यो मैले बेलुका मात्र थाहा पाएँ,’ मीनाले भनिन्। त्यसपछि दम्पती तीजमा सँगसँगै व्रत बस्दै आएका छन्।
मीना भन्छिन्, ‘पुरुषको महिलाप्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्छ। त्यो उहाँमा पाएकी छु। त्यही स्वभावका कारण उहाँ व्रत बस्दै आउनुभएको छ। यसैले परिवारमा सधैं खुुसीयाली छ।’
अधिकांश महिला तीजमा निराहार व्रत बस्छन्। भोलिपल्ट बिहान पारायण गरेर मात्र पानी खान्छन्।
अचेल यसमा परिवर्तन भएको छ। दिनभर व्रत बसेपछि साँझ शिव–पार्वतीको पूजा गरेर पानी, दूध र फलफूल खाने महिला पनि छन्। डा. बरोकोटीले भने, ‘उनी निराहार व्रत बस्छिन्। म पानीचाहिँ पिउँछु।’
