विराटनगर- विराटनगरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।
कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका विराटनगर ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले बताए।
मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।
उनको ३ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली आइसकेको वडाध्यक्ष कामतले बताए।
विराटनगरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो। विराटनगरमा हालसम्म ७४५ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ३३१ जना होम आइसोलेसनमा रहेको महानगरपालिकाले जनाएको छ। विराटनगरमा यसअघि कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।
