धनगढी- कञ्चनपुरमा प्रहरीको कुटपिटबाट एक किशोरको कानको जाली फुटेको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–२ स्थित अस्थायी प्रहरी पोस्ट, वाणीमा कार्यरत प्रहरीको जवान शिवराज भट्टको कुटपिटबाट १५ वर्षीय सुनिल चौधरीको कानको जाली फुटेको हो।
चौधरीको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. डिआर कँडेलले चौधरीको कानको ६० प्रतिशत जाली फुटेको बताए।
“चौधरीले तीन महिना लगातार औषधि सेवन गर्नु पर्ने र त्यसपछि कानको थप उपचार गर्नु पर्नेछ,” डा. कँडेलले भने।
छोरासँगै माछा मार्दै गरेको अवस्थामा प्रहरी जवान भट्टले कुटपिट गरेको आमा अनिता चौधरीले बताइन्। “छोरा र म माछा मार्दै थियौं,” अनिताले भनिन्, “के कति कारणले उनले कुटपिट गरे, थाहा भएन।”
अस्थायी प्रहरी पोस्टका प्रहरी नायब निरीक्षक नन्दराज बडुले घटनाको अनुसन्धान भइरहेको बताए।
