काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा गत शुक्रबार खसेको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार पहिरोमा हराइरहेका २४ वर्षीय सान्लामु दोङको शव पछिल्लो पटक फेला परेको हो। यससँगै पहिरोमा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ।
यसअघि आज बिहान र दिउँसो पहिरोमा पुरिएका चार जनाको शव भेटिएको थियो।
यसअघि आज पहिरोबाट ४४ वर्षीय हीराबहादुर दोङ, ४२ वर्षीया बिबिरानी दोङ, १८ वर्षीया ललिता दोङ र पाँच वर्षीय सानुकान्छा दोङको शव निकालिएको प्रहरी उपरीक्षक महर्जनले बताए।
पहिरोमा अझै ९ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
