अछाम- अछामको रामारोशन गाउँपालिका-५ मा बाढीले बगाएर मृत्यु भएका ६ जनाको सनाखत भएको छ।
मंगलबार राति कैलाश खोलामा आएको बाढीले बगाएका १७ जनामध्ये ६ जनाको मात्र शव भेटिएको छ।
शव भेटिनेमा सोही गाउँपालिका-५ का ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षीय अमर शाह र १२ वर्षीय नवीन शाह रहेको गाउँपालिका अध्यक्ष झंकर साउदले जानकारी दिए।
उनीहरुको शव बुधबार बिहान बान्नीगढी जयगढ गाउँपालिकाको दर्ना तथा मंगलसेन नगरपालिकाको दयमा भेटिएको थियो।
नवीनबाहेक अरु ५ जनाको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मंगलसेन राखिएको छ। नविनको भने बुधबार नै दाहसंस्कार गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको टोलीले बेपत्ताको खोजी जारी राखे पनि शव भेटाउन नसकेको अध्यक्ष साउदले बताए।
साउदले वेपत्ता भएकाहरुको शव भेटिने सम्भावना न्यून रहेको बताए। ‘६ वटा शव पनि सबै तल्लो तटिए क्षेत्रमा भेटिएका हुन्। बगेर बुढीगंगामा मिसिसकेको हुनसक्छ’ साउदले भने,‘शव भेटिने आशा मरिसक्यो।’
बाढीका कारण सैनीबजार पूरै बगरमा परिणत भएको छ भने २२ वटा घर बगेका छन्। पशु चौपाया तथा अन्य धनजनको क्षतिको आकलन नै गर्न नसकेको साउदले बताए।
तिमिल्सेन–रामारोशन सडक खण्डको दर्ना पुलदेखि सैनीसम्मको करिब १५ किलोमिटर सडकको ८० प्रतिशत भूभाग बाढीले बगाएको साउदले जानकारी दिए।
कैलाश खोलाको किनारैकिनारमा अवस्थित उक्त सडक प्रदेश सरकारले कालोपत्रेका लागि गत आर्थिक वर्षमै टेण्डर गरिसकेको छ।
सडक बगाउँदा आवतजावतमा निकै समस्या भैरहेको छ। अध्यक्ष साउदले एक वडाबाट अर्को वडामा जानलाई गोरेटो बाटो निर्माण गर्नुपर्ने बताए।
बाढीले एउटा पक्की पुल र पाँचवटा झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ। मंगलबारको बाढीले कैलाश खोलाको दुईतिरको करिब चार हजार हेक्टर खेतीयोग्य जमिन कटान गरेको गाउँपालिकाले अनुमान गरेको छ।
कैलाश खोलाको आर्यखाँद नजिक माथिबाट बगेर आएको पहिरोले नदी थुनेपछि पानी सैनीबजारतिर पसेर क्षति पुर्याएको हो। पहिरोमा रुख र ठूलठूलो ढुंगा बगेर नदी थुनिँदा उक्त वितण्डा मच्चाएको साउदले बताए।
