सुर्खेत- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गतेदेखि जारी निषेधाज्ञा ४ दिनलाई थप गर्दै भदौ ९ गते राति १२ बजेसम्मलाई पुर्याइएको छ।
आज (बिहीबार) बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा ९ गतेसम्म थप्ने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए
यस्तै दैलेखमा पनि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले आजदेखि चार दिनका लागि निषेधाज्ञा जारी गरेको हो।
बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
कोरोना संक्रमण समुदायमा बढ्दै गएको र तीजमा भिडभाड हुने भएकाले प्रशासनले निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुुर सुनारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्थानीय प्रशासन ऐन–२०२० को दफा ६ (३) तथा संक्रामक रोग ऐन–२०२० को दफा २ बमोजिम पूर्व जाजरकोट जिल्लाको सिमाना, पश्चिम कालिकोट र अछाम जिल्लाको सिमाना, उत्तर कालिकोट जिल्लाको सिमाना र दक्षिण सुर्खेत जिल्लाको सिमानाभित्र कुनै पनि गतिबिधि नगर्न/नगराउन आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ।
