धनगढी– सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेशमा रहेका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार २११ जनाको कोरोना परीक्षण भएको छ। परीक्षणमा कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६९४ जनाको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका २६ जना, गोदावरी नगरपालिकाका ११ जना, घोडाघोडी नगरपालिकाका १० जना र भजनी नगरपालिकाका तीन जना र कञ्चनपुरको भिमदत्त नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उता, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७० जनाको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५–१५ जना, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १४७ जनाको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै डोटीका हुन् । दिपायल सिलगढी नगरपालिका–५ का पाँच जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एक–एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना, राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जना र केआईसिंह गाउँपालिकाका एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय ८० जना, डोटीमा ९१९, अछाममा ७७०, बाजुरामा ६२३, कञ्चनपुरमा ६१२ जना, डडेल्धुराका ३१५, बैतडीका ३०१, बझाङका २९८ र दार्चुलाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये चार हजार २४१ बढीले कोरोना संक्रमण जितेका छन् भने १२ जनाको मृत्यु भएको छ ।
