विराटनगर- विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ।
सामाजिक विकास मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गरे। स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको उचाईलाई कायम राख्नेगरी काम गरिने बताए।
सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरी विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए। उनले विराट क्याम्पस विश्वविद्यालयको सबैभन्दा ठूलो दाता भएको बताए।
मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरु गर्ने मन्त्री घिमिरेले बताए। सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गर्ने मन्त्री घिमिरेले बताए।
