काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका विषयमा थप रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक अहिले साँझ बस्दैछ।
बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। प्रधानमन्त्रीले थप रणनीति बनाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई यसअघि निर्देशन दिइसकेका छन्।
बुधवार बालुवाटारमा नै प्रधानमन्त्रीको अध्यक्षतामा सीसीएमसीको बैठक बसेको थियो। केही दिनयता नेपालमा कोराना संक्रमित बढिरहेका छन्।
संक्रमण रोकथाम र नियन्त्रण गर्न मन्त्रिपरिषद्ले प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने, सिल गर्ने, लकडाउन गर्नेसम्मको अधिकार प्रत्यायोजन गरिसकेको छ।
सोही निर्णय अनुसार बुधवार रातिदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको जोखिम देखिएका देशका अन्य जिल्लाहरुमा पनि पूर्ण र आशिंक निषेधाज्ञा लगाइसकिएको छ।
