काठमाडौं– अबको दुई वर्षसम्म कुनै पनि निजी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्दिन भन्न नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज (बुधबार) को नियमित प्रेस ब्रिफिङमा अब दुई वर्षसम्म कोभिड बाहेकका बिरामीको उपचारमात्रै गर्न सम्भव नभएको बताएका हुन्।
कोरोना संक्रमण फैलिएकाले अस्पतालमा आउने जोसुकै पनि कोभिडका बिरामी हुन सक्ने भएकाले उनीहरुलाई सोही अस्पतालमा राखेर उपचार गर्न मन्त्रालयले निर्देशन दिएको छ। सरकारले तोकेको हब अस्पताल र सरकारी अस्पतालहरुमा कोरोना संक्रमितले भरिने सम्भावना भएकाले निजीमा आएका संक्रमितलाई उपचार गर्दिन भन्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एक तिहाई बेड कोभिड–१९ उपचारको लागि छुट्याउन निर्देशन दिइसकेको छ ।
मन्त्रालयले निजीलाई पनि कोभिड, ननकोभिड दुबै किसिमका बिरामी उपचार गर्न निर्देशन दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भने, ‘हामीले निजीलाई पूर्वसूचनाका साथ बेड छुट्याउन, म्यानपावर छुट्याउन, सामानहरु उपलब्ध गराउन र सबै प्रकारका बिरामीलाई उपचार गर्न तयार हुनुस् भनेका हौं। यसमा निजी अस्पतालले संक्रमण फैलन्छ भन्ने आशय देखाए। कोभिडको उपचार नगराउने हो भने निजी अस्पताल बन्द गर्नुहुन्छ ?’
गौतमले थपे, ‘मन्त्रालयले बिरामीलाई रिफर गर्नुपर्ने अवस्थामा हब अस्पतालको समन्वयमा रिफर गर्न सकिन्छ भनेको थियो। यदि सरकारी र हब सबै अस्पतालमा बिरामीले बेड भरिएका छन् भने निजीमा भएका संक्रमितलाई मर्न दिनुहुन्छ ?’
त्यसैले निजी अस्पतालले पनि कोरोनाका बिरामी उपचार गर्नुपर्ने हुनाले २० प्रतिशत छुट्याउन आग्रह गरेको उनले बताए । सरकारीमा बिरामी बढ्दै जाँदा मेडिकल कलेजले पनि आफ्नो दायित्व पूरा गर्न मन्त्रालयले आग्रह गरेको छ।
