काठमाडौं- एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ ।
कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाका लागि आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
बैंकले यसअघि पनि आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकका तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।
साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकारलगायतसँगको सहकार्यमा करिब ४८ लाखबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरूसमेत वितरण गरिसकेको जनाएको छ ।
