धनगढी- बझाङको बुङ्गल नगरपालिका–५ मिडीमा गएको पहिरोमा परी बेपत्ता दुबै बालकको मृत्यु भएको छ।
पहिरोमा परेर प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र ६ वर्षका सुदीप ओखेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिराेबाट उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले निकालेका हुन्।
बुधबार बिहान करिब १ बजे तिर घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पूर्ण रूपमा पुरिएको थियो।
प्रताप ताम्राकार भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।
पहिरोमा परेर उनकी ४० वर्षीया श्रीमती पीपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल ताम्राकार घाइते भएका छन्।
घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।
घटनालगत्तै प्रहरीले स्थानीयको सहयोगमा पहिरोमा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो।
