काठमाडौं– अछामको रामारोशन गाउँपालिका ३, सान्तवडाको सैनी बजारस्थित नदीमा आएको बाढीले बस्ती बगाउँदा १६ जना बेपत्ता भएका छन्। स्थानीयवासीका अनुसार कैलाश खोलामा आएको बाढीले बगाएका चार शव भेटिएका छन्।
अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सैनी बजारमा बस्ती बगाउँदा १६ जना जति बेपत्ता भएको स्थानीयले खबर दिएको जानकारी दिए।
“बस्ती बगाएर मानिसहरु बेपत्ता भएको खबर आएको छ,” उनले भने, “यकिन विवरण अझै आइसकेको छैन।” घटनास्थल सदरमुकाम मगंलसेनबाट ४५ किलोमिटरभन्दा टाढा छ।
सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्धारमा समस्या भइरहेको उनले जानकारी दिए।
ठाउँ–ठाउँमा बाटो भत्किएकाले समयमा नै टोली पुग्न सकेको छैन। तर, बिहानै सदरमुकाम क्षेत्रबाट उद्धारका लागि सुरक्षाकर्मीहरुको टोली त्यसतर्फ परिचालन गरिएको छ।
“त्यहाँ नजिक रहेको प्रहरी युनिटले बुझ्ने प्रयास गरिरहेको छ। तर, उक्त टोली पनि पुग्न सकेको छैैन,” प्रजिअ उपाध्यायले भने।
स्थानीयवासी र जनप्रतिनिधिहरुको भनाइ अनुसार त्यहाँ ठूलो क्षति भएको छ। दुई वटा बस्ती बगेको जानकारी आएको प्रजिअ उपाध्यायले जानकारी दिए। उनका अनुसार उद्धारका लागि हेलिकप्टरका लागि पनि भनिसकिएको बताए।
