बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राध्यापकका आन्दोलनमा पार्टी सधैं साथमा छ : कांग्रेस नेता

प्राध्यापकका आन्दोलनमा पार्टी सधैं साथमा छ : कांग्रेस नेता

‘सरकार तर्सेर शक्तिको दुरुपयोग गर्दै प्राध्यापकमाथि खनिएको छ। प्राध्यापककले उठाएका मुद्दालाई संसद्, सडकमा लैजानेछौं। पार्टी सधैं विश्वविद्यालयका प्राध्यापकहरुको साथमा छ।’
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सरकारबाट मुद्दा लगाउँदैमा विश्वविद्यालयको प्राज्ञिक, शैक्षिक एवम् प्रशासनिक पदमा जेष्ठता, प्राज्ञिक विशिष्टता तथा क्षमताका आधारमा नियुक्त गर्नुपर्ने मागका सम्बन्धमा पछि नहट्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।

उनीहरुले विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुबाट उठाइएका मागप्रति पार्टीको सधैं साथ रहने पनि प्रतिबद्धता जनाएका छन्।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको १५ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले विश्वविद्यालयको स्वायत्तताका लागि आवाज उठाएका प्रजातन्त्रवादी प्राध्यापक संघको नेतृत्वमाथि मुद्दा चलाउने त्रिवि प्रशासनको कार्यशैलीको भर्त्सना गरे।

कांग्रेस शुभेच्छुक संघसंगठन विभागका संयोजक समेत रहेका साउदले भने, ‘सरकार तर्सेर शक्तिको दुरुपयोग गर्दै प्राध्यापकमाथि खनिएको छ। प्राध्यापककले उठाएका मुद्दालाई संसद्, सडकमा लैजानेछौं। पार्टी सधैं विश्वविद्यालयका प्राध्यापकहरुको साथमा छ।’

चारैतिरबाट अधिनायकवादी दृष्टिकोणले अगाडि बढेको भन्दै उनले सरकारको आलोचना गरे।

कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङले प्राज्ञिक क्षेत्रमा क्रमशः राजनीतिकरण हुनुमा कांग्रेसबाट पनि कमीकमजोरी भएको स्वीकार्दै त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताए।

दक्षता, वरिष्ठता र क्षमताको कुराभन्दा भागबन्डाको कुरा उठाउँदा समस्या निम्तिएको उनको भनाइ थियो।

उनले प्राध्यापकको नेतृत्वमाथि मुद्दा लगाएर त्रिवि प्रशासनले कायरता देखाएको भन्दै त्यसबाट विचलित नहुन आग्रह गरे।

उनले भने, ‘राणा शासन, पञ्चायत र निरंकुश शासकले लगाएको मुद्दा जित्दै आएका प्रजातन्त्रवादीले वर्तमान कम्युनिस्ट सरकारले लगाएको मुद्दाको पनि डटेर सामना गर्नेछ।'

उनले पनि प्रजातन्त्रवादी प्राध्यापक संघले उठाएका मागप्रति पार्टीको साथ रहेको बताए। नेता गुरुङले कोरोना भाइरससँगसँगै भ्रष्टाचारको भाइरसबाट पनि जोगिन आग्रह गरे।

संघका अध्यक्ष जगत तिमिल्सिनाले शान्तिपूर्ण रुपमा उठाइएका माग सुनुवाइ नभएपछि संविधानले दिएको अधिकार प्रयोग गरी विरोधमा उत्रिँदा त्रिवि प्रशासनले मुद्दा लगाएर अकर्मण्यता देखाएको बताए।

उनले भने, ‘अहिले सिंगो प्रजातन्त्रवादी प्राध्यापक संघमाथि राज्य खनिएको छ। बरु हामी जेल जान तयार छौं। प्रजातन्त्रवादी प्राध्यापकको शिर निहुरिने गरी काम गर्नेछैनौं।’

राज्यले सिंगो प्रजातन्त्रवादी संघमाथि चुनौती दिँदा पनि संघकै केही साथीहरुको आँखा नखुल्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो।
उनले त्रिवि पदाधिकारीले कोभिडको समयमा पनि भ्रष्टाचार गर्न नछाडेको आरोप लगाए।

उनले प्रजातन्त्रवादी प्राध्यापक संघ जस्तोसुकै अवरोधलाई पनि चिरेर परिवर्तनका लागि लडिरहने पनि स्पष्ट पारे।

कार्यक्रममा कांग्रेस सम्बद्ध अन्य वैचारिक संगठनका प्रतिनिधिहरु, विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले संघले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका थिए।

नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापाले सरकार अप्रजातान्त्रिक शैलीबाट देखाएको दम्भले प्राध्यापक पछि नहट्ने बताए।

उनले लोकतान्त्रिक विधिबाट अगाडि बढ्न खोजेका प्राध्यापक नेतृत्वमाथि लगाइएको झुटा मुद्दा खारेज गर्न माग गरे।

प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमले विश्वविद्यालयको प्रगति र उन्नतिका निमित्ति राखिएका जायज माग राख्दा प्राज्ञिक क्षेत्र प्रताडित हुनु विडम्बना रहेको बताए।

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष एवम् पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्रप्रसाद भट्टराईले विश्वविद्यालयको स्वायत्ततामा सरकारले अंकुश ल्याउने गरी उच्च शिक्षा विधेयक ल्याउन लागेको भन्दै त्यसमा सुधार गर्न जोड दिए।

प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कुलप्रसाद कोइराला, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका पूर्वअध्यक्ष वासुदेव घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, काठमाडौं विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघ एकाइ अध्यक्ष भूपालगोविन्द श्रेष्ठ, संघका काठमाडौं उपत्यका उपाध्यक्ष कृष्णकान्त पराजुली, संघका सचिव जनकरत्न मल्ल, केन्द्रीय सदस्य लता घिमिरे, सुमन घिमिरेलगायतले बेथितिका विरुद्धमा एकजुट भएर अघि बढ्न आग्रह गरे।

२०६३ सालमा स्थापना भएको प्रजातन्त्रवादी प्राध्यापक संघमा हाल देशभर गरी १५ हजारभन्दा बढी प्राध्यापक आबद्ध छन्। यसका सबै विश्वविद्यालय, प्रदेश, जिल्ला समन्वय र क्याम्पस एकाइ समिति सक्रिय रहेको अध्यक्ष तिमिल्सिनाले बताए।

संघले त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक, शैक्षिक एवम् प्रशासनिक पदमा जेष्ठता, प्राज्ञिक विशिष्टता तथा क्षमताका आधारमा निश्चित मापदण्ड पारदर्शी ढंगले निर्धारण गरी नियुक्त गर्नुपर्ने लगायतका ३३ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएको छ।

यस क्रममा संघले केही समयअघि त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रार तथा सेवा आयोगको कार्यालयमा ताला लगाएको थियो। तालाबन्दी लगाउने संघको नेतृत्वविरुद्ध पाटन उच्च अदालतमा मुद्दा परेपछि त्रिवि प्रशासनले ताला खोलेको छ।  

प्रजातन्त्रवादी प्राध्यापक संघले झुठा मुद्दा खारेज गर्न माग गर्दै आएको छ।

यस विषयमा सोमबार कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग पनि गम्भीर चासो व्यक्त गरेका थिए।

 

प्रकाशित: Aug 19, 2020| 00:44 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।