बिहीबार, भदौ ११, २०८३

रहेनन् राष्ट्रकवि घिमिरे

१०२ वर्षीय घिमिरेको काठमाडौंको लैनचौरस्थित निवासमा आज (मंगलबार) अपराह्न ५ः ५५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

१०२ वर्षीय घिमिरेको काठमाडौंको लैनचौरस्थित निवासमा आज (मंगलबार) अपराह्न ५ः ५५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरेका 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखेँ सपना' (नारायण गोपाल) लगायतका गीत पनि चर्चित छन्।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो।

बाल्यावस्थादेखि नै नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी,  इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति प्रकाशित छन्।

एघार वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशालामा अध्ययन गरेका उनले तीनधारा संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गरेका थिए।

घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए।

१४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ शीर्षकमा १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे।

२००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे भएका घिमिरेले केही समय भाषानुवाद परिषदमा पनि काम गरेका थिए। उनी २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए। घिमिरेले केही समय लमजुङ फर्किएर माध्यमिक विद्यालयमा पनि पढाएका थिए।

परिवारका अनुसार राष्ट्रकवि घिमिरेको आजै दाहसंस्कार गरिने  छ।

प्रकाशित: Aug 18, 2020| 18:43 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।