काठमाडौं– सोमबार बैतडीमा खाल्डोमा पुरिएर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि परिवारले शव बुझेका छन्।
दशरथचन्द नगरपालिका–२ देहीमाडौंका १४ वर्षीय अंकित लावड र ११ वर्षीय सन्दीप लावडको सडकमा ह्युम पाइप राख्न बनाइएको खाल्डोमा डुबेर ज्यान गएको थियो।
मंगलबार मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिपछि दुवै बालकको शव बुझेका हुन्।
देहीमाडौं–गिरेगडा सडकखण्ड स्तरोन्नतिको कामको जिम्मा पाएका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिए।
सडकमा बनाइएको खाल्डोकै कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले क्षतिपूर्ति नदिँदासम्म शव नउठाउने अडान लिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले दुवै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने जानकारी दिए।
