काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चुनाव चिह्नको विवादले पार्टी एकता नरोकिने बताएका छन्।
सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ जुन भए पनि यो विवादले पार्टी एकतामा कुनै फरक नपर्ने थापाले बताएका हुन्।
थापाका अनुसार राप्रपा र राप्रपा संयुक्त एकीकरण हुँदा चुनाव चिह्न ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने उल्लेख गरिएको छ।
उक्त सहमति हतारमा नगरिएको भन्दै थापाले सहमतिको सम्मान हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले उपयुक्त र साहसिक निर्णय गर्नेछ। कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु आवश्यक छैन।’
थापाले ‘गाई’ चुनाव चिह्नले संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फ करिब ७ लाख मत प्राप्त गरेको पनि स्मरण गरेका छन्।
उनले राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेश सभा सांसद ‘गाई’ चिह्नबाट निर्वाचित भएको बताएका छन्।
थापाले राप्रपाको मुख्य एजेण्डा हिन्दू राष्ट्र भएको र हिन्दुत्वको प्रतिक ‘गाई’ भएको पनि स्मरण गराएका छन्।
चुनाव चिह्नका विषयमा देखिएको विवाद सामान्य भएको र सबैको प्रयासले सजिलै समाधान हुने थापाको भनाइ छ।
