काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढीपहिरोमा परेकाको उद्धार र पीडितलाई राहत दिन ४५ लाख रुपैयाँ सहयोग गरेको छ।
पहिलो चरणमा ३० जिल्लाका बाढीपहिरो प्रभावितलाई सहयोग गर्न उक्त रकम उपलब्ध गराएको कांग्रेसले जनाएको छ।
बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याएका बेला मानवीय कर्तव्य निर्वाह गर्न जिल्ला कार्यसमितिमार्फत उक्त रकम पठाइएको हो।
‘नेपाली कांग्रेस हरेक मानवीय पीडामा मलम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको छ। यस क्रममा बाढीपहिरोका कारण पछिल्ला दिनमा भएको क्षतिमा उद्धार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्याउन यो सहयोग गरिएको हो’, कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘स्नेहको सानो सहयोग’ का रुपमा एक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लामा पठाइएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले सिन्धुपाल्चोक, लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ र ओखलढुंगामा सहयोग रकम पठाएको हो।
यस्तै संखुवासभा, पर्वत, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा र धनुषामा सहयोग रकम पठाइएको कांग्रेसले जनाएको छ।
सहयोग रकम पठाइएका अन्य जिल्लामा सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की छन्।
कांग्रेसले उद्धार र राहतमा संलग्नहरुप्रति उच्च सराहना गरेको छ।
