सुर्खेत- कर्णाली प्रदेशका ९ हजारभन्दा बढी घर जस्तापाता (टिन) ले छाइने भएको छ। ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत कर्णालीका ९ हजार ३५५ घर जस्तापाताले छाइने भएको हो।
यसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् दुई हजार ६४३ घरमा जस्तापाता लगाइने सहरी डिभिजन तथा भवन निर्माण आयोजना सुर्खेतले जनाएको छ। रुकुम पश्चिममा एक हजार १९९, सल्यानमा एक हजार ६ सय ९१, दैलेखमा एक हजार सात सय ८९ परिवारको सुरक्षित आवास निर्माण गरिने छ । त्यस्तै जाजरकोटमा एक हजार १५, डोल्पाको पाँच सय १२ र जुम्ला पाँच सय ६ जना घरमा जस्तापाता लगाइने छ ।
कार्यक्रममा सुरक्षित र वातावरणमैत्री आवासको लागि गरिवीको रेखामुनी रहेका (विपन्न तथा अल्पसंख्यक बृद्ध, एकल महिला, बालबालिका घरमूली भएको), बाढीपहिरो जस्ता प्राकृति प्रकोपले घर बिहिन भएका र खर तथा परालको छाना भएका घरमा जस्तापाता लगाइने छ ।
जस्तापाता लगाउन सरकारले स्थानीय तहबाट प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने डिभिजन तथा भवन निर्माण आयोजना सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले जनाए ।
जसमध्ये सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा जस्तापाता लगाइने घरधुरीको संख्या टुङ्गो लागेको छ । कार्यालयका अनुसार सिम्ता गाउँपालिकाका दुई सय ३०, गुर्भाकोट नगरपालिकमा तीन सय २० भेरिगगा नगरपालिकामा दुई सय ५०, चिगाड गाउँपालिकामा दुई सय, लेकवेशी नगरपालिकामा दुइ सय ५० र वीरेन्द्रनगरमा ६३ र दुई सय सात जना बाढीपिडित गरी एक हजार पाँच सय २० घरमा जस्तापाता लगाइने छ ।
