काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ९८ वर्षीय वृद्धका छोराबुहारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उपचारका क्रममा मंगलबार बिहान धुलिखेल नगरपालिका–७ का वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि उनका परिवारका सदस्यहरुमा गरिएको परिक्षणबाट छोराबुहारीमा संक्रमण पुष्टि भएको हो।
परिवारका १२ जना सदस्यमध्ये कोरोना पोजेटिभ देखिएका वृद्धको रेखदेखमा रहेका छोरा बुहारीमा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरु दुवैजना अहिले काठमाडौंस्थित बानेश्वरको घरमै आइसोलेसनमा उपचाररत रहेको बुझिएको छ।
मृतक वृद्धको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए।
प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएपनि समयमै रगत उपलब्ध गराउन नसकेको कारण वृद्धको मृत्यु भएको खुलेको छ। उनलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या थियो।
वृद्धलाई साउन २७ गते कोरोना पुष्टि भएपछि धुलिखेल अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। काभ्रेमा हालसम्म भेटिएका ८० संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ।
३४ जना उपचारपछि घर फर्किएको र बाँकीको उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।
यसअघि पाँचखाल नगरपालिका–१ घर भएकी ५२ वर्षीया महिलाको साउन २६ गते किष्ट अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो।
