विराटनगर– प्रदेश १ मा कोरोना भाइरसको संक्रमण परीक्षण व्यवस्थित बनाइने भएको छ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सीमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ। मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत तथा सिकिस्त बिरामीहरु, कोभिड–१९ जस्तै लक्षण भइ शंकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाहबमोजिम लक्षण देखिएका व्यक्तिहरु र कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई प्राथमिकतामा राखिएको प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईंले बताए।
उनले संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्यहरु न्यूनतम पाँच दिन होम आइसोलेसन बसेपछि, संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मीटर दूरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति न्यूनतम पाँच दिन होम आइसोलेसन बसेपछि पीसीआर परीक्षणको प्राथमिकतामा राखिएको बताए।
विदेशबाट आएर न्यूनतम पाँच दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरु र कोभिड–१९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सूरक्षाकर्मी तथा अन्य कर्मचारीहरु पीसीआर परीक्षणको प्राथमिकतामा पर्ने महाशाखा प्रमुख प्रसाईले बताए।
प्रदेश १ मा रहेका चार वटा प्रयोगशालाहरु कोशी अस्पताल, प्रदेश प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पीसीआर परीक्षण हुँदै आएको छ।
सोमबारसम्म ६७ हजार १७८ पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ।
