बारा- माछा मार्ने क्रममा भएको झडप नियन्त्रणमा लिन बारामा प्रहरीले हवाई तथा अश्रु ग्यास प्रहार गर्नुपरेको छ।
बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ भगवानपुरटोल बीचमा रहेका कुलोमा दुई टोलका स्थानीयबीचको विवादले झडपको रुप लिएको थियो।
झडपमा ५ जना घाइते भएका थिए। झडप नियन्त्रणमा लिएको प्रहरीले सम्झाई बुझाई गर्दा नभएपछि १३ राउण्ड हवाई फायर गर्नुका साथै ६ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको छ।
झडपको खबर गाउँमा फैलिएपछि दुवै टोलका एक हजारभन्दा बढीको संख्यामा पुगेको स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको छ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीलाई थप मद्दतको लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षकसहित गएको प्रहरी टोलीले हवाई फायर गरी हुल तितरबितर बनाएकोले अहिले त्यहाँको अवस्था सामान्य रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।
घाइते भएकाहरूको यकिन विवरण आउन बाँकी रहेको तथा उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
