विराटनगर– प्रदेश १ मा आज सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।
प्रदेश १ मा सोमबार २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी कोभिडमा सुविधा विस्तार
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिइने भएको छ ।
पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिइने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए ।
उनले भने, ‘लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होइन, लक्षण भएकालाई बढी प्राथमिकता दिइने छ ।’ उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयू वेड तयारी अवस्थामा राखिएको डा.सिग्देलले बताए ।
आईसीयु र भेन्टिेलेटर वेडसँगै आवश्यक जनशक्तिलाई तालिमको प्रवन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रवन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
सुविधा विस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रवन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले बताए ।
कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर सुविधा थपिएसँगै वेड संख्या १ सय पुगेको छ ।
