सप्तरी- एक महिनामा प्रदेश नं २ मा करिब तीन हजार संक्रमित बढेका छन्।
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना संक्रमित रहेकामा साउन मसान्तसम्ममा संक्रमितको संख्या ६ हजार ८२१ पुगेको छ।
पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार संक्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ।
असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ संक्रमित थिए।
संक्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ। असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक÷एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ।
तीमध्ये ११ महिला र ३४ पुरुष छन्। मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
संस्थागत आइसोलेसनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना छन्।
संक्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन्।
असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ मा हाल आईसीयूमा ४१ जना उपचाररत छन्। प्रदेश नं २ को आइसोलेसन भरिभराउ भएपछि संक्रमित घरमै बस्न बाध्य छन्। प्रदेशमा ९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेसनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेसनमा राखिएको छ।
यसले समुदायमा संक्रमण फैलिने खतरा बढेको उनको भनाइ छ। उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० शय्याको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको बताए।
राजविराजस्थित आइसोलेसन केन्द्रमा जनशक्ति अभाव भएपछि संक्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।
दीर्घरोगी कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भेन्टिलेटर नपाउँदा संक्रमितको उपचारमा पनि समस्या देखिएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले चारवटा भेन्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावमा सञ्चालन हुन नसकेको बताए।
“रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी संक्रमित रहेको जानकारी दिँदै उनले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना संक्रमण बढेको बताए ।
भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृत्युको ग्राफ उकालो लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का विनोद यादवले बताए।
प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ।
जनकपुर, राजविराज र वीरगन्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ।
सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए। -रासस
