काटमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका पुरिएका थप ३ जनाको शव फेला परेको छ।
योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। १९ जनाको शव यसअघि नै फेला परिसकेको थियो।
सोमबार बिहान थप ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता ३९ जनामध्ये अहिलेसम्म २२ जनाको शव भेटिएकोमा १७ जना अझै वेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार हालसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङको शव फेला परेको छ।
यस्तै ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाका रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ, ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ र १० वर्षका सुरज दोङको शव फेला परेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी माधवप्रसाद काफ्लेले बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको जानकारी दिए।
आइतबार बिहानबाट हिँडेको डोजर बाटो बनाउँदै बेलुकीसम्म पहिरो गएको स्थलमा पुग्ने अनुमान गरिएको काफ्लेले बताए।
