काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको उपाय सुझाउन गठन गरिएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ।
बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदललाई वैधानिकता दिँदै चाँडोभन्दा चाँडो निकासका विकल्पसहितको प्रतिवेदन दिन निर्देशन दिएको हो।
उक्त प्रतिवेदनपछि पार्टी विवाद कसरी हल गर्ने भन्ने विषयमा ठोस निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा कार्यदल अनुमोदनसँगै केही समसामयिक विषयमा छलफल भएको उनले बताए।
पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेका थिए। विष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन्।
कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले प्रश्न उठाएका थिए।
वैधानिकतामाथि नै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको हो। कार्यदलले शनिबारदेखि नै काम थालिसकेको एक नेताले जानकारी दिए।
