धनगढी- सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ पर्व मनाईदै छ । हरेक वर्ष भाद्र सक्रान्तिका दिन यो पर्व मनाइउने गरिन्छ ।
आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिनुका साथै विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी बावण, माणा, निसौसे, बुप्का लगायत मिठामिठा परिकार खुवाउने चलन छ ।
भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ ।
भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सादको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहि आएको छ ।
खासगरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मनाईने यो पर्व तराईको जिल्ला कैलाली कञ्चनपुरमा समेत हर्षोल्लासपूर्वक मनाइने गरेको छ ।
पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको गौरीशंकर मन्दिरका पुजारी ईश्वरी मिश्रले बताए ।
