काठमाडौं- जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आइतबार १२ बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
लकडाउनको अवधिमा बिहान १० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउनेछन् । व्यापार र व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने विषयमा सो विज्ञप्तिमार्फत सचेत गराइएको छ।
धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि सुरु गरेको एक साताको लकडाउनको अवधिमा एक–एक साता थपिँदै गएको छ।
यस्तै बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।
बैठकले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने, शैक्षिक संस्था, सभा, गोष्ठी, तालिम, सेमिनार, सैलुन, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए।
