काठमाडौं– नेपाली सेनाका सहायक रथी (एकतारे जर्नेल)सहित तीन जना सैनिक अधिकृतलाई सेवाबाट हटाइएको छ।
सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारबाही गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
३२ साउनमा बसेको समरी जनरल सैनिक अदालतले नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरसमेत गरेको’ अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई सेवाबाट हटाइएको हो।
त्यस्तै, समरी जनरल अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवाको फैसला गरेको छ। साथै प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्र मणी गिरी र अवकाशप्राप्त लेखा सुवेदार नवराज पाण्डेलाई सफाई दिने फैसला गरेको छ।
आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवं सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
