बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहे गर्छु भन्दै युवतीलाई ५० लाख ठग्ने विदेशी पक्राउ

बिहे गर्छु भन्दै युवतीलाई ५० लाख ठग्ने विदेशी पक्राउ

नक्कली डाक्टर बनेर एक युवतीबाट ५० लाख रुपैयाँ ठगी गर्ने अंगोलाका नागरिक पक्राउ परेका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– नक्कली डाक्टर बनेर नेपाली युवतीबाट ५० लाख रुपैयाँ ठगी गरेकाे आराेपमा अंगोलाका नागरिक पक्राउ परेका छन्।

आफू बेलायतको डाक्टर भएको र नेपाल आएर बिहे गर्छु भन्दै झन्डै ५० लाख रुपैयाँ ठगी गर्ने ४८ वर्षीय सिल्भा एन्टिनियो डी कोस्टालाई महानगरीय प्रहरी महाशाखाको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा मार्की एरोन नाम राखेका कोस्टाले ती युवतीलाई आफू लन्डनको बुपा क्यामवाल अस्पतालमा कार्यरत रहेको र नेपाल आएर बिहे गर्छु भन्दै ठगेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार कोस्टाले नयाँ वर्षका अवसरमा हीराको औंठी, सुनको सिक्री र दुई लाख ३० हजार पाउन्ड पठाउँदै छु भनेर ती युवतीलाई ती सामग्रीको तस्बिर पठाएका थिए। उनले भन्सार छुटाउन भन्दै पटकपटक गरेर ४८ लाख ५४ हजार रुपैयाँ ठगेको कार्कीले बताए।

कोस्टाले युवतीसँग सामान नेपाल पठाइसकेको र भन्सार छुटाउन थप २० लाख रुपैयाँ चाहियो भनेर मागेपछि युवतीले प्रहरीलाई खबर गरेकी थिइन्।

‘२० लाख रुपैयाँ लिएर आउनू भन्दै नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएछन्। त्यहाँ पुगेर फोन गर्दा पुनः होटल सोल्टीमा बोलाएछन्’, कार्कीले भने, ‘त्यहाँबाट समेत भागेपछि उनलाई ठमेलको एक होटलबाट पक्राउ गरिएको हो।’

कार्कीका अनुसार ठगीमा पर्ने युवती एक निजी कम्पनीको माथिल्लो तहमा जागिरे छिन्।

कोस्टाले पक्राउ परेकै दिन शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार नगद ठगेको खुलेको कार्कीले जानकारी दिए।

उनी नक्कली नोट बनाउने कार्यमा पनि संलग्न रहेको आशंका प्रहरीले गरेको छ। ठमेलस्थित उनी बसेको होटलको कोठा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुन केमिकल र कागज बरामद गरिएको कार्कीले जानकारी दिए।

उनको साथबाट ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकी डलर, नक्कली जस्तो देखिने १ हजार दरका ३ नोट, विभिन्न देशका मुद्रा, ल्यापटप बरामद गरिएको छ।

कोस्टाविरुद्ध ठगी र खोटाचलन मुद्दामा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 19:09 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।