काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिका–९ की ३३ वर्षीया देवा बोहरा २९ साउनमा कालिकोटस्थित माइती गएकी थिइन्। उनी दुई दिनपछि दिदीको घर हुँदै फर्कने तयारीमा थिइन्।
आमाको वार्षिक तिथिमा माइती आएकी उनीसँगै तीन सन्तान पनि थिए। श्राद्ध सकेर माइती कालिकोटको नरहरिनाथ गाउँपालिका–७ बाट शनिबार साँझ दिदीको घर जान हिँडेकी उनलाई बाटोमा पर्ने उत्सव खोलाले बगायो। तीन सन्तान पनि सँगै बगे।
कालिकोटका प्रहरी नायब उपरीक्षक श्याम ओलीयाका अनुसार देवासहित उनकी १४ वर्षीया छोरी बिपना, सात वर्षका छोरा हेमन्त र एक वर्षकी छोरी आकृतिको खोलाले बगाएर मृत्यु भएको छ।
‘गाउँ नजिकैको स्वास्थ्य चौकीमा उनीहरुको पोस्टमार्टम भइरहेको छ’, उनले भने।
