काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभियर औषधि आयात गर्न बल्ल बाटो खुलेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रेम्डिसिभियर आयातका लागि औषधि व्यवस्था विभागलाई शुक्रबार पत्र पठाएपछि विभागले शनिबार अनुमति दिएको हो।
तीनवटा आयातकर्तालाई आयात अनुमति दिइएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए। विभागका अनुसार आयातकर्तालाई क्लिनिकल ट्रायलका लागि मात्र आयात गर्न अनुमति दिइएको छ। आयातकर्तालाई दुई हजार भाइलका दरले ल्याउन अनुमति दिइएको छ।
अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेम्डेसिभियरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोरोना संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ।
यो औषधि अन्य देशमा पनि कोरोना उपचारका लागि प्रभावकारी मानिएको छ।
भारतका औषधि कम्पनी सिप्ला, माइनल र हिरेटो कम्पनीबाट उत्पादित रेम्डेसिभियर मात्रै आयात गर्न सकिने महानिर्देशक ढकालले बताए।
आयातकर्ताले तीन दिनभित्र औषधि ल्याउने प्रतिबद्धता जनाएका छन्। औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले बिहीबारसम्म औषधि ल्याइने बताए। रेम्डेसिभियर एक भाइलको ६ देखि ८ हजार रुपैयाँसम्म पर्ने ढकाल बताउँछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार रेम्डेसिभियर प्रयोगका लागि परिषद्ले प्रोटोकल तयार गरिसकेको छ।
पहिलो चरणमा प्रयोग गरिएको औषधिको प्रभावकारिता हेरेर दोस्रो चरणको प्रक्रिया थालिने उनले बताए।
विभागमा दर्ता नहुँदा रेम्डेसिभियर गैरकानुनी तरिकाले भित्रिएको जानकार बताउँछन्। जसले गर्दा एक भाइलको ४० देखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो।
स्वास्थ्य सेवा विभागले गत मंगलबार रेम्डेसिभियरको क्लिनिकल परीक्षणका लागि अस्पताललाई आह्वान गरिसकेको छ।
रेम्डेसिभियर चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अमेरिका, युरोप तथा भारतमा समेत प्रयोग भएको यो औषधि नेपालमा ल्याउन दिन ढिलाइ गरेको भन्दै कतिपय चिकित्सकले सरकारसँग असन्तुष्टि जनाउँदै आएका थिए। भारत लगायतका देशमा यो औषधि गम्भीर किसिमका संक्रमितको उपचारमा प्रयोग भइरहेको छ। त्यसको नतिजा प्रभावकारी देखिएपछि नेपालमा पनि रेम्डेसिभियरको प्रयोग गर्न थालिएको छ ।
चिकित्सकका अनुसार कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले ठिक नभएको अवस्थामा सुईमार्फत रेम्डेसिभियर दिइन्छ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार विभिन्न क्लिनिकल परीक्षणले रेम्डेसिभियरले उपचारमा सघाउ पुर्याएको देखिएको छ।
