काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ।
भोलि सोमबार बिहान साढे ९ बजे सचिवालयको बैठक बोलाइएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। ३ साउनपछि नेकपाको सचिवालयको बैठक बस्न लागेको हो।
पार्टीभित्र देखिएको विवाद समाधनका लागि भन्दै नेकपाका दुई अध्यक्षले कार्यदल गठन गरेका थिए। उक्त कार्यदलको कार्यादेश निर्धारण गर्नका लागि सोमबार सचिवालयको बैठक बोलाइएको नेकपाले जनाएको छ।
दुई अध्यक्षले कार्यदल गठन गरेपछि नेकपाभित्र वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका थिए।
अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर उनीहरुले सचिवालयको बैठक बस्नुपर्ने माग गरेका थिए। महासचिव विष्णु पौडलको संयोजकत्वमा नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलले आफ्नो गृहकार्य पनि सुरू गरिसकेको छ। असार १० गतदेखि सुरू भएको पार्टीको स्थायी कमिटी बैठक अहिले अनिश्चित छ।
स्थायी कमिटी बैठक नबसिरहेका बेला ३ साउनमा सचिवालयको बैठक बसेको थियो। उक्त बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारेका थिए।
