गएको माघ १ गते चीनको वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भयो। विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि आवश्यक तयारी गरियो।
भरतपुर अस्पताल पनि आइसोलेसन कक्ष कसरी निर्माण गर्ने भन्ने तयारीमा लाग्यो। चितवन अलि सम्भावित ठाउँ हो भन्ने हिसाबले पनि तयारी थालिएको थियो। त्यो बेलामा टेकुमा एक–दुई जना कोरोना संक्रमणको आशंकामा भर्ना भएका थिए।
म आफैँ टेकु अस्पताल गएर आइसोलेसन बेड कसरी बनाइएको रहेछ, कोरोना संक्रमितलाई कसरी राख्नुपर्ने रहेछ भनेर हेरेर आएको थिएँ। त्यसै अनुसार भरतपुर अस्पतालमा पनि आइसोलेसन कक्ष बनाइएको थियो। अहिले १० बेडको आईसीयू र ७५ बेडको आइसोलेसन कक्ष बनाइएको छ।
भरतपुर अस्पतालमा वैशाखमा पहिलो संक्रमित बिरामीलाई आइसोलेसन कक्षको १०७ नम्बर बेडमा राखेर उपचार गरिएको थियो। १०७ नम्बर देखि लिएर अरु ६ वटा बेडहरु टेकु अस्पतालमा बनाइएको जस्तै गरेर बनाएका थियौं। अहिले त्यही बेडमा आफू पनि बसेर स्वास्थ्य लाभ गर्नु परिरहेको अवस्था छ। वैशाखदेखि नै अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी राखेर उपचार गरिरहेका थियौं।
हामी स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा नै बसेर काम गरिरहेको हुनाले बेला–बेलामा सबैको पालैपालो परीक्षण गर्दै आइरहेका थियौं। अहिले पनि परीक्षण गरिरहेका हुन्छौं।
सुख्खा खोकी लाग्ने, जिउ दुख्ने र घाँटी दुख्ने समस्या भएपछि गएको बुधबार पीसीआर परीक्षण गराएको थिएँ। शनिबार रिपोर्ट पोजेटिभ देखियो। अन्य त्यस्तो लक्षण त केही देखिएको छैन। अहिले धेरैतिर संक्रमण फैलिराखेको छ। अरु चिकित्सत्क र स्वास्थ्यकर्मीहरुलाई पनि देखा परिरहेको छ।
कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कसरी व्यवस्थापन गर्ने, रणनीति कसरी बनाउने भन्ने विषयमा अस्पतालका प्रमुख, अस्पताल व्यवस्थापन समिति, विभागीय प्रमुखहरुसँग नियमित रुपमा बैठक बसिरहेको थिएँ। संक्रमण बढ्दै गएको हुनाले थप व्यवस्थापन कसरी गर्ने भनेर धेरै मानिसहरु बसेर बैठक छलफल गरेका थियौं।
त्यहाँबाट पनि संक्रमण भएको हुन सक्छ। अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेकाले त्यसबाट पनि हुन सक्छ। अस्पतालमा संक्रमित बिरामीहरु पनि राखिएको छ। फ्रन्टलाइनमा रहेर काम गर्दा सुरक्षा अपनाइएको भए पनि अछूतो रहन सकिएन। अहिले भरतपुर अस्पतालमा ५ चिकित्सक र २ जना नर्स संक्रमित छन्। म अस्पतालको आइसोलेसन बेडमा उपचाररत छु। संक्रमणबाट जोगिन सबैले उच्च सतर्कता अपनाउनै पर्छ। एकदमै सचेत हुनुपर्छ।
विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयले जुन मापदण्ड बनाएको छ, त्यसको पालना गर्नैपर्छ। सामाजिक दूरी कायम गर्ने, हात बेला बेलामा साबुन पानीले धुने, सेनिटाइजर प्रयोग गर्ने, अनावश्यक रुपमा घरबाहिर ननिस्कने, भीडभाडबाट जोगिने गर्नैपर्छ।
केही लक्षणहरु देखा परेमा जतिसक्दो पीसीआर परीक्षण गर्नु नै राम्रो हुन्छ। भरपुर अस्पतालमा अहिले ३९ जना संक्रमित उपचाररत छन्। अहिलेसम्म १२० जना संक्रमित अस्पतालबाट संक्रमणमुक्त भएर फर्किसकेका छन्। जोखिम दिनप्रतिदिन बढ्दै गइरहेकाले सबैले सचेत हुनु नै जरुरी हुन्छ।
(बीपी अनमोलसँगको कुराकानीमा आधारित)
