काठमाडौं- रौतहटमा साउन २४ शनिबार गतेदेखि लागू गरिएको निषेधाज्ञा आगामी भदौ ७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको छ।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ३२ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा भदौ ७ गते आइतबारसम्म कायम राख्ने निर्णय गरेको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि हप्ताको तीन दिन बिहान ३ घण्टामात्र पसल खोल्न पाउने निर्णय बैठकले गरेको छ।
अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउन सोमबार, बुधबार र शुक्रबार बिहान ६ देखि ९ बजेसम्म मात्र पसल खोल्न पाइने छ।
व्यापारी र ग्राहकका लागिसमेत बैठकले मापदण्ड निर्धारण गरेको छ। बिक्रेता र ग्राहक दुबैले मास्क, सेनिटाइजर र पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने छ। सामाजिक दूरी कायम गर्नुपर्ने तथा मास्क नलगाउने उपभोक्तालाई सामग्री बेच्न नपाइने नियम बनाइएको छ।
माथिका नियमहरु उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
पछिल्लो समय रौतहटमा समुदायमा संक्रमण देखिरहेको अवस्था छ। मानिसहरूको आवतजावत बढी हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको खड्काले जानकारी दिए।
