बिहीबार, भदौ ११, २०८३

महिलाका मात्र रहेनन् तीजका भाका

मौलिकता कमजोर हुँदै गएको, पुरुष भूमिका बढ्दै गएको, सांस्कृतिक विचलन आउन लागेको जस्ता आरोप खेप्दै पछिल्लो समयका तीजका गीत व्यावसायिक बनिरहेका छन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीज व्रत, पूजा र खानपानमा मात्र सीमित छैन।

एक महिनाअघि देखि गीत गाउने, नाच्ने, आफन्त–छिमेकीकहाँ दर खान जाने–बोलाउने, शुभकामना आदानप्रदान तीजका सामाजिक पक्ष हुन्।

परम्परागत कृषि कर्मका कारण व्यस्त हुने ग्रामीण बस्तीमा पौराणिक महत्त्वकै आधारमा पर्व मनाउने प्रयास वा बाध्यता भए पनि अचेल तीज धेरै बदलिइसकेको छ।

यस वर्ष भने कोरोना भाइरस महामारीका कारण जताततैको अवस्था बिग्रँदै गएकाले जमघट गर्ने र रमाइलो गर्ने वातावरण छैन। यस अवस्थामा तीजको रमाइलो घरभित्रै सीमित भएको छ। कोठा वा घरभित्र सीमित तीजको सारथी भने युट्युबमार्फत सार्वजनिक भएका नयाँनयाँ तीजका भाका बनेका छन्।

मनपर्ने गायक गायिकाका नयाँ पुराना तीजका भाका टेलिभजन, रेडियो तथा युट्युब लगायतमा हेरेर आनन्द लिनुपर्ने अवस्था छ।

रित्तो घरमा एक्लै छमछमी नाच्ने वातावरण नभएका दिदीबहिनी घरको आँगन वा छतमा मनपरेको गीतको एउटा टुक्रोमा नाचेर टिकटक भिडियो बनाउने अवसर प्रविधिले दिएको छ।

व्यावसायिक रुपमा तीजका गीत रेकर्ड हुन थालेका तीन दशक भएको छ। २९ वर्ष पुरानो नेपाली फिल्म ‘कन्यादान’ मा ‘तीजको लहर आयो बरिलै’ बोलको गीत समावेश भएपछि बिस्तारै व्यावसायिक तीजका गीत रेकर्ड हुन थालेका हुन्।

हरिदेवी कोइराला, बिमाकुमारी दुरा, शर्मिला गुरुङ, शिला आले, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल, विष्णु माझी हुँदै अहिलेसम्म आइपुग्दा पुस्तान्तरणको प्रभावसँगै सांस्कृतिक पृथकतासमेत तीजमा देखिएको छ।

मौलिकता कमजोर हुँदै गएको, पुरुष भूमिका बढ्दै गएको, सांस्कृतिक विचलन आउन लागेको जस्ता आरोप खेप्दै पछिल्लो समयका तीजका गीत व्यावसायिक बनिरहेका छन्।

थपडी र मादलको भरमा रातभर गाउने–नाच्ने र मनोरञ्जन लिने परम्परागत स्वभावको तीज गीत ‘ह्याभी मेटल इन्स्ट्रुमेन्टल’ मा आइपुग्दा नाफा–घाटाको हिसाब राख्न थालिएको छ।

एक दशकअघि गायक पशुपति शर्मा र राधिका हमालले गाएको ‘टलक्कै ऐना टल्कियो...’ गीतपछि तीजका गीतमा पुरुषको भूमिका ह्वात्तै बढेको छ। त्यसो त २९ वर्षअघिको ‘तीजको लहर आयो बरिलै...’ गीतमा चेतन कार्कीको शब्द र शम्भुजित बाँस्कोटाको संगीत थियो।

पुरुष भूमिका पर्दापछाडि हुँदै आए पनि केही वर्षयता पुरुषको प्रत्यक्ष उपस्थितिबिनाका तीज गीत पाउन निकै मुस्किल छ। शब्द, संगीत वा स्वरमा पुरुषको भूमिका बाक्लिएको छ।

शिला आले, शकुन्तला थापाको ‘जँड्याहा पोइ’ तीज गीतमा राजु परियारको स्वर मन पराइएकै हो। तत्कालीन समाजको बिम्बका रुपमा देखिएका ‘जँड्याहा पोइ...’ कमल गाउँलेको अभिनयले तीज गीत निर्माणमा पुरुषको भूमिका झनै महत्त्वपूर्ण बनेको थियो पनि।

केही वर्षयता आएका केही तीजका गीतमा त महिलाको उपस्थिति नै छैन। गत वर्ष सर्वाधिक चर्चामा रहेको दुर्गेश थापाको गीत ‘हामी पनि नाच्नुपर्छ बीच्चबीचमा...’ मा महिला भूमिका शून्य थियो।

यो गीतलाई कतिपयले तीजको गीतका रूपमा स्वीकार गर्न नमिल्ने बताए पनि सहरका पार्टी प्यालेसमा हुने ‘दर खाने’ कार्यक्रममा निकै घन्कियो।

व्यवहारतः तीजकै रूपमा स्वीकारिएको यो गीतले यस वर्ष त्यसकै ‘सिक्वेल’ तयार गरी बजारमा ल्यायो। उक्त गीतमा पनि महिलाको भूमिका ‘कोरस डान्सर’ मा सीमित रह्यो।

तीज पर्वको मौलिकता नारीको बिलौना मात्र हो भन्ने कुरालाई अहिलेको समाजले स्वीकार गर्दैन। हरिदेवी कोइरालाको ‘जमुनाको तिरैमा हम्क्याइलो...’ जस्तो पौराणिक कथा वा शर्मिला गुरुङको ‘हाम फालेर मरूँ कि त्रिशूलीको पानीमा, घरमा बसुँ सौता छ माइत सानिमा...’ जस्तो बिलौना आधुनिक समाजका लागि स्वीकार्य नहुन सक्छ।

‘सौता’ र ‘सानिमा’ प्रतिनिधि घटनाका रूपमा कतै रहे पनि यो अहिले सान्दर्भिक हुन सक्दैन। नेपालको कानुनले बहुविवाह निषेध गरेको छ। यो गीतमा भनिएजस्तो विभेद गर्नेहरुको कानुनी उपचार खोज्न सरकारले नै सहयोग गर्छ।

यद्यपि परिस्थिति वा प्रविधिको परिवर्तनले पर्वको चरित्र परिवर्तन गर्न खोज्ने कुरा भने समाजले अस्वीकार गर्छ। पछिल्लो समय तीजकै गीतका रुपमा निस्किएका कतिपय गीतलाई समाजले स्वीकार नगरेका उदाहरण पनि छन्।

हिजो तीजका भाकामा पुरुषहरु मादल बजाएर सहयोग गर्थे। अहिले गाउन थाले। यसलाई फरक कोणबाट सोच्ने हो भने तीजका गीत समाज परिवर्तनको ‘बिगुल’ बन्न पनि खोजिरहेका छन्।

समाज रुपान्तरणका लागि सशक्त आवाज बनेर नारी स्वर गुञ्जिँदा पुरुषले पनि साथ दिएको कुरालाई कतिपय अवस्थामा सहजै स्वीकार गरिएको छ। तर तीजकै भाकामा नारी–पुरुष दोहोरी नखेलून्, तीजकै भाकालाई ‘रत्यौली’ नबनाऊन्, तीजलाई पप, रक वा हिप–पप नबनाऊन् भन्ने चाहना व्यक्त हुनु अस्वाभाविक मानिँदैन।

सोच वा सिद्धान्त परिवर्तन हुन समय लागे पनि प्रविधिको परिवर्तन आफ्नै रफ्तारमा भइरहेको हुन्छ। कुनै अनुनयविनयले भन्दा पनि ‘इनोभेसन’ ले ल्याउने परिवर्तन स्वीकार्य हुन्छ र हुनुपर्छ। त्यस्तै तीजका गीतमा आएका परिवर्तन बिस्तारै स्वीकार्य हुँदै गएका छन् र हुँदै जानेछन् भन्ने कुरा विगत केही वर्षयताका गीतहरुको सफलताले देखाएको छ।

प्रकाशित: Aug 15, 2020| 08:16 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।