काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरुको बासस्थानको व्यवस्थाका लागि पहल गरिने बताएका छन्।
शुक्रबार पहिरो पीडित क्षेत्रमा राहत सामग्रीसहित पुगेका थापाले सो क्षेत्रको निरीक्षण र अनुगमन गर्दै सरकारले पीडितहरुको व्यवस्थापनका लागि पहल गरिने बताएका हुन्।
“सिंगो यो क्षेत्र नै जोखिमयुक्त ठाउँमा छ भन्ने पहिलेदेखि नै आँकलन थियो। अझ ठूलो क्षति हुन सक्ने अवस्था थियो,” उनले भने, “पूर्व सावधानी अपनाएको हुनाले ठूलो क्षति हुनबाट जोगिएको छ।”
घरबाट बाहिर बस्दै आएका मानिसहरु आज बिहान पुरानो घरमा गएको समयमा पहिरोमा पुरिएको देखिएको उनले बताए। सरकारको तर्फबाट हरसम्भव उद्धार छिटो सम्पन्न गर्ने र पुनर्निर्माणलाई अगाडि बढाउने उनको भनाइ छ।
“शवहरु दबिएका छन्, उत्खनन भइरहेको छ। विस्थापित घरपरिवारहरुको अस्थायी आवासको निर्माणमा सरकार लागेको छ,” उनले भने।
गृहमन्त्री थापाले विस्थापित ४० परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका छन्। उनले तत्काल राहत वितरणका लागि वडाध्यक्ष प्रताप लामालाई दुई लाख रुपैयाँसमेत उपलब्ध गराएका छन्।
नेपाली सेनाको हेलिकप्टरमा गृहसचिव महेश्वर न्यौपाने, विपद् प्राधिकरणका सीईओ सहितको टोली लिएर गृहमन्त्री थापा पहिरोस्थल पुगेका हुन्।हेलिकप्टरबाट पालसेट, भाडावर्तन, म्याट्रेस, बाल्टिन, पञ्जा, ग्यालिन, ब्लांकेट लगायतका सामग्री लगिएको थियो।
गृहमन्त्री थापाले स्थलगतरुपमा निरीक्षण गर्दै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई उद्धारमा खटिन निर्देशन दिका छन्।
आजै बिहान सभामुख अग्निप्रसाद सापकोटासमेत सिन्धुपाल्चोक पुगेका थिए। उनले पहिरो स्थलको निरीक्षण र अनुगमन गरेका छन्।
शुक्रबार बिहान गएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ। अहिलेसम्म ११ जनाको शव भेटिएको छ। अन्यको खोजी जारी छ।
