विराटनगर- विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका १ डाक्टर, १ नर्सिङ स्टाफ, २ जना औषधि पसलका कर्मचारी र १ जना प्रशासनका कर्मचारीमा कोरोना पुष्टि भएको हो। संक्रमित भेटिएको औषधि पसल अस्पतालभित्रै सञ्चालित छ। ५ जना थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ९ पुगेको छ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले यसअघि ३ चिकित्सक र १ जना नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको बताए।
२ डाक्टरमा गत शनिबार पहिलोपटक कोरोना देखिएको थियो। उनीहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा गत सोमबार एक डाक्टर र एक नर्समा संक्रमण देखिएको दाहालले बताए। उनका अनुसार डाक्टरसहित स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ।
नोबेलमा कार्यरत २२४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा ७० जनाको रिपोर्ट आउन बाँकी रहेको दाहालले बताए।
अस्पतालले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीका लागि आइसोलेसन बेड बनाएको छ। संक्रमितमध्ये अस्पतालका १ चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ती चिकित्सकको अवस्था थप जटिल बनेपछि उपचार पद्धति फेर्दै बिहीबार प्लाज्मा थेरापी गरिएको थियो।
