बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारी र सेवाग्राहीको स्वास्थ्य ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो।

बैंकले ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र संक्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक ट्रेसिङ’ गर्न भनेको छ।

संक्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ।

आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ।

केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ।

यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ।

बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको आज जारी विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: Aug 13, 2020| 20:35 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्