काठमाडौ– सर्वसाधारणले अब साधारण सेयर (आईपीओ)का लागि आवेदन दिँदा कम्तीमा ५० कित्ता सेयर पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले बुधबारदेखि आईपीओमा धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने बताएको हो।
बोर्डले बुधबारदेखि लागू हुनेगरी बुक बिल्डिङ विधि लागू गरेसँगै आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या ५० हुनेछ । हाल आईपीओ भर्नेले न्यूनतम १० कित्ता पाउने व्यवस्था छ । यो व्यवस्था पनि बोर्डमा रेवतबहादुर कार्की अध्यक्ष भएर आएसँगै लागू गरिएको थियो । त्यसअघि गोलाप्रथाबाट जसले जति कित्ता पनि पाउने व्यवस्था थियो ।
साउन २२ गते बोर्ड सञ्चालक समितिले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गर्ने निर्णय गरेको थियो । सो निर्देशिका लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने बोर्डले जनाएको छ ।
त्यस्तै बोर्डका अनुसार निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोवार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डले विश्वास व्यक्त गरेको छ।