बिहीबार, भदौ ११, २०८३

स्वदेशी खानी नचल्दा एक अर्बको क्लिंकर आयात

लकडाउनको कारण स्वदेशी खानीहरु सञ्चालन नहुँदा भारतबाट झण्डै १ अर्ब मूल्यको क्लिंकर आयात भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

भैरहवा- लकडाउनको कारण स्वदेशी खानीहरु सञ्चालन नहुँदा भारतबाट झण्डै १ अर्ब मूल्यको क्लिंकर आयात भएको छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार ०७७ बैशाखदेखि असार मसान्तसम्म मात्रै ९८ करोड ६९ लाख ६६ हजार मूल्यको क्लिंकर आयात भएको छ। आयातित क्लिंकरको कुल परिणाम १ लाख २२ हजार टन छ।

लम्सालले भने, ‘बैशाख अघिसम्म क्लिंकर आयात शून्य थियो। लकडाउन चैतबाट भयो तर बैशाखदेखि उद्योगीले आयात गर्न सुरु गरेका हुन्। त्यसपछि आयात ह्वात्तै बढेको छ।’

नेपाल क्लिंकरमा आत्मनिर्भर भएको करिब दुई वर्ष भयो। स्वदेशी पदार्थ चुन ढुंगा उत्खनन् गरी उद्योगीले क्लिंकर बनाउँदै आएका छन्। तर लकडाउन अवधिभर खानीबाट कच्चा पदार्थ उत्खनन् गर्न नपाएपछि आत्मनिर्भर भनिएको क्लिंकर नै भारतबाट आयात गर्नु परेको हो।

जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक बिदुर ढुंगानाले भने, ‘लकडाउनको अवधिमा स्वदेशी क्लिंकर पाइएन यसैले हामीले भारतबाट महंगो मूल्यमा भए पनि आयत गरेका हौँ।’ महाप्रबन्धक ढुंगानाले नेपाली क्लिंकर उद्योगसँग खरिद गर्दा ७ हजारमा पाइने क्लिंकर भारतबाट ल्याउँदा ३ हजार बढी मूल्य तिर्ने बाध्य भएको समेत बताए। उनका अनुसार भारतबाट आयत गर्दा ढुवानीदेखि भन्सारसम्मको झन्झट झेल्नु परेको छ।

भारतबाट महंगोमा क्लिंकर खरिद गरेर प्रतिस्पर्धात्मक बजारको कारण नोक्सानी ब्यहोरेर सिमेन्ट बेच्न बाध्य भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रबि रन्जनले बताए। उनले भने, ‘नेपालका क्लिंकर प्लान्ट बन्द हुँदा भारतबाट मगायौँ। एकएक महिना पर्खिनु पर्ने बाध्यताका बीच मगायौँ।’

भारतको मध्यप्रदेश र राजस्थानबाट नेपालमा क्लिंकर आउने गर्दछ। रेलबाट र अन्य मालबाहक गाडी मार्फत् ल्याउँदा वर्षाको समयमा पुरै भिज्ने, गाडीहरु व्यवस्थापन गर्न पनि समस्या भएको महाप्रबन्धक रन्जनले बताए।

लकडाउनले चुनढुंगा उत्खनन गर्न नपाउदा क्लिंकर उत्पादन गर्ने उद्योगहरु सञ्चालन नभएको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले बताए। अम्बुजा सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका अग्रवालले भने, ‘हामीले होंग्सी, अर्घाखाँची र पाल्पाबाट क्लिंकर लिने गर्दथ्यौं। तर उनीहरुले आफ्नै उद्योगलाई पुर्याउन सकेका छैनन्।’

प्रदेश ५ को तराईका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै २० वटा सिमेन्ट उद्योग छन्। उद्योगले खानीबाट चुनढुंगा उत्खनन् गर्न नपाउँदा परनिर्भर हुन पुगे। खानीले चुनढुंगा उत्खनन् गर्न नपाएपछि अहिले क्लिंकर उत्पादन गर्दै आएका उद्योगलेसमेत भारतबाट क्लिंकर आयात गरिरहेका छन्।

नेपाल क्रसर खानी तथा रोडा ढुंगा महासंघका केन्द्रीय सचिव रामु अधिकारीले संघीय र प्रदेश सरकारले खानी सञ्चालनका लागि कुनै रोक नलगाएको भए पनि स्थानीय सरकार र प्रशासनले रोक्दा चुनढुंगा उत्खननमा समस्या परेको बताए।

उनले भने, ‘बैशाख जेठमा पुरै रोकियो। अहिले वर्खाको समयमा अनुमति दिइएको छ। यतिबेला सडक बिग्रेर खानीसम्म जानै सकिँदैन। जसले गर्दा क्लिंकरको लागि आवश्यक कच्चा पदार्थ उद्योगसम्म ल्याउनै सकिएन।’

प्रदेश ५ मा पाल्पाको तिनाउ गाउँपालिकाको विभिन्न वडाका डाँडाबाट, पाल्पाकै धानिका, श्रीडाँडा, मस्याङ, जगता, सिद्धेश्वर, अर्घाखाँचीको नरपानी, प्युठानको लुंग, तनहुँ लगायतका ठाउँमा रहेका खानीबाट उद्योगीले चुनढुंगा ल्याउने गर्छन्। अर्घाखाची, सर्वोत्तम, पाल्पा, शुभश्री, सिद्धिसिद्धी, होंग्सी सिमेन्ट उद्योगले क्लिंकरसमेत उत्पादन गर्ने गर्दछन्।

प्रकाशित: Aug 13, 2020| 14:00 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्