बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिजुलीको स्मार्ट मिटर जडान सुरु, प्राधिकरणको खर्च घट्ने

बिजुलीको स्मार्ट मिटर जडान सुरु, प्राधिकरणको खर्च घट्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटर स्मार्ट मिटरले प्रतिस्थापन गरेर जडान कार्यको शुभारम्भ गरेका छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटर हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटर स्मार्ट मिटरले प्रतिस्थापन गरेर जडान कार्यको शुभारम्भ गरेका छन्।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजना प्राधिकरणको छ। स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्नेछैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ। मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ।

कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने प्राधिकरणको भनाइ छ। स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वेतपत्रमार्फत घोषणा गरेको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए। उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २५ सयदेखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए।

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २२२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ। स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ छ। यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ।

प्रकाशित: Aug 09, 2020| 13:58 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्