फुटबलमा नाम र पहिचान बनाएका खेलाडी अब अन्य विधामा पनि सफल हुन थालेका छन्। नसा-नसामा फुटबल रहेको बताउने खेलाडी अब अभिनयमा पनि जम्न थालेका छन्।
कोरोनाले दैनिक गतिविधिदेखि अन्य सबै काम ठप्प पारिदियो। काममा व्यस्त हुने फुर्सदिला भए।
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै जाँगरिलालाई महामारीले कहाँ रोक्यो र? कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे।
उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्। नयाँ काममा उत्साहसाथ जुटेपछि पहिचान बढेको उनीहरू बताउँछन्।
चैत ११ लकडाउन सुरु भएपछि खेलाडी प्रशिक्षण छोडेर घरमै थुनिए। खेल गतिविधि कहिले सुरु हुन्छ अन्योल भयो। त्यसैले केही खेलाडी युट्युबमा नाटक बनाउन सक्रिय भए।
‘लकडाउनको सुरुमा युट्युबमा धेरै समय बितायौं। बिस्तारै मैले पनि भिडियो बनाउन थालेंं’, नाटकका परिकल्पनाकार सुगन तण्डुकार भन्छन्।
भिडियो बनाएर सामाजिक सञ्जाल, युट्युबमा अपलोड गरे। अनि अब यो काम व्यावसायिक रुपमा किन अघि नबढाउने भन्ने लाग्यो। ‘खेल सुरु हुने टुंगो नभएपछि केही त गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि नाटक बनाउन थाल्यौं,’ तण्डुकारले भने।
उनी फुटबलका एजेन्ट हुन्। त्यसैले खेलाडीसँग राम्रो सम्बन्ध छ। उनको टिममा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेश खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मस्र्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवि सिलवाल र जनक कोइराला काम गर्न राजी भए। विदेशी खेलाडी फिओरेन्ट कोअरा, जोन जुनियर र एकवेम बतालामीले पनि उनलाई साथ दिए।
लगानी जुटेपछि ब्रान्ड बनाउने धोको
सनिल लामा र जितेन्द्र कार्कीले उनीहरूको योजना मर्न दिएनन्। पहिलो भागमा लगानीको वातावरण तयार भयो। ‘प्रतिफल आउँछ भनेर सुरु गरेका होइनौं। तीन भाग सकिँदा प्रतिफल आउँछ जस्तो लागेको छ’, सनिलले भने, ‘१२ भागमा पुग्दा एउटा ब्रान्ड बनाउने योजना छ।’
परिकल्पना र लगानीकर्ता मात्र भएन स्क्रिप्ट पनि चाहियो। सुगनले काजी लिम्बूसँग आग्रह गरे। काजी सहमत भए। नाटकको निर्देशन नाटक निर्देशन सेबिता अधिकारी र मना श्रीले गर्ने टुंगो लाग्यो।
नाटकको तेस्रो भाग
असार १८ गते स्कृप्ट तयार भयो। २१ गते कुलेश्वर मन्दिरमा पूजा गरेर छायांकन सुरु गरियो। पहिलो भाग तीन दिनमा सकियो। पहिलो भागको राम्रो प्रतिक्रिया पाएपछि सुगनले नाटक परिस्कृत गर्न थाले। फिल्म निर्देशक जितेन्द्र राजोपाध्यायलाई नाटक निर्देशनको जिम्मा दिइयो।
राजोपाध्यायले भने, ‘फुटबल खेलाडीलाई पहिला त अभिनय सिकाउनुपर्यो। दोस्रो भागमा थप मेहनत गरेपछि केही फरक देखिन थालेको छ। खेलाडी र प्रशिक्षकलाई फुटबलकै माध्यमबाट बुझाउँदा सजिलो हुने रहेछ।’
उनले नयाँ शैली अपनाए। जस्तो– रिसाएको अभियन गर्नुपर्दा रेडकार्ड खाएको सम्झिन लगाउने। खुसी हुनुपर्दा गोल गरेको सम्झिन लगाउने।
‘फुटबलकै कुरा गर्न लगाएर उनीहरूको दबिएको कलाकारिता बाहिर निकाल्ने गरको छु,’ निर्देशक राजोपाध्याय भन्छन्।
‘धर्मसंकट’ फिचर्स मुभीको तयारी
सुगन अब फिल्म बनाउन जुटेका छन्। फिल्मको नाम छनोट भइसकेको छ– ‘धर्मसंकट।’
थप कलाकार पनि फुटबल खेलाडीलाई नै लिने उनी बताउँछन्। ‘फुटबल समेटिएको फिल्म बनाउन सके नेपालीले फुटबल चिन्नेछन्’, उनले भने।
नाटकको १२ भागसम्ममा खेलाडी नै हुन्छन्। फिल्म पनि बनाउन सकिन्छ भन्ने लागेको छ,’ राजोपाध्याय भन्छन, ‘पहिलो सिजन गर्ने। फिल्म बनाउन क्षमता भए, गर्ने। नभए दोस्रो सिजन सकेपछि फ्लिम गर्ने भन्ने योजना छ।’
फरक विधामा काम गर्न असाध्यै कठिन
‘धेरै गाह्रो,’ सुगनले भने, ‘फुबटलमै लागेको र कहिल्यै नाटकमा आउने नसोचेको मानिस यता आउँदा धेरै गाह्रो हुने रहेछ। अहिले समान्य अवस्थामा बोलेजस्तो क्यामेराअघि नहुने रहेछ। खुट्टा काम्न थालिहाल्छ।’
डाइलक कसरी बोल्ने? कस्तो अवस्थामा कस्तो हाउभाउ गर्ने ? कता हेर्ने जस्ता प्राविधिक कुरा नजान्दा क्यामेरा फेस गर्न गाह्रो भएको अनुभव उनको छ।
उनीहरुले शुक्रबार दिउँसो रिहर्सल गर्ने तालिका बनाएका छन्। सुगन भन्छन्, ‘फुटबल मैदान र क्यामेरा फेस गर्ने कुरा धेरै फरक रहेछ।’
राजोपाध्यायको अनुभव पनि त्यस्तै छ। ‘व्यावसायिक कलाकार र खेलाडीलाई काम गराउँदा अवश्य फरक हुन्छ। निर्देशकले नै धेरै मेहनत गर्नुपर्छ’, निर्देशक राजोपाध्याय भन्छन्, ‘व्यावसायिक कलाकारसँग काम गरेजस्तो उपलिब्ध हासिल गर्न त गाह्रो हुन्छ। सय प्रतिशत आस गर्दा ६०–७० प्रतिशत उपलिब्ध प्राप्त हुन्छ।’
समयसापेक्ष र यथार्थ
नाटकमा खेलकुदका यथार्थ चित्रण गरिएको छ। खेलाडीले लामो समयदेखि तलब नपाएको, विस्थापित खेलाडी विदेश जाने अवस्थामा पुगेको जस्ता समस्या नाटकमा देखाइएको छ।
विभागीय टिमबाहेक अन्य क्लबले खेलाडीलाई लकडाउन अवधिको तलब दिएका छैनन्। ‘खेल रोकिएका कारण थुप्रै खेलाडी र खेलसम्बद्ध मानिस समस्यामा छन्। कति खेलाडी त खेलजीवनको उत्तराद्र्धमा छन्। लकडाउनले उनीहरूको सोचाइमा परिवर्तन ल्याइदिएको त्यही कुरा नाटकमा पनि भेटिन्छ।’
कलाकार बनेका खेलाडी नाटकमै केन्द्रित छन्। विदेशबाट आएका खेलाडी पनि नाटकमा छन्। उनीहरुलाई नाटकमा अतिथि कलाकारका रुपमा प्रयोग गरिएको छ। खाली समयको सदुपयोग गर्नका लागि उनीहरुलाई नाटकमा अभिनयको मौका दिएको सुगन बताउँछन्।
लक्ष्य परिवर्तन भएको छैन
नाटकका सबै कलाकारको एकमात्र लक्ष्य फुटबल हो। त्यसैले उनीहरुले फुटबललाई असर नपर्ने गरी समय व्यवस्थापन गरेका छन्। शनिबार मात्र सुटिङ तालिका छ। अरू दिन फुटबल।
‘फुटबल नभएरै मात्र नाटक सुरु गरेका हौं। फुटबल पहिलो प्राथमिकतामा छँदै छ,’ सुगन भन्छन्।
प्रतिकृया
नाटक प्रदर्शनमा आइसकेपछि सकारात्मक÷नकारात्मक दुवै खाले प्रतिकृया आएका छन्। नाटकप्रति कलाकारको निष्ठा गज्जबको छ। कलाकारले नाटकमा योगदान दिएकै छन् त्यसबात कमल श्रेष्ठ, सकल रेग्मी, डिकेस खड्की, आशिक थापामगरले पैसा लिएका छैनन्। उनीहरुको यही निष्ठा र मेहनतले नाटक सफल हुँदै गएको सुगन बताउँछन्।
च्यानलको सस्क्राइब चार सय पुगिसकेको छ। १२ भाग बनाइसकेपछि १५ दिन आराम गरेर अघि बढ्ने योजना रहेको सुगनले बताए। उनी भन्छन्, ‘घकलाकारलाई पनि पारिश्रमिक दिनैपर्ने हुन्छ। हामी त्यसैअनुरुप हामी बढ्छौं।’
यो पनि पढ्नुस् :
खेलाडीले लकडाउनमा ल्याए ‘अफसाइड’ नाटक
खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक