काठमाडौं– राकेश महर्जनले पर्यटन व्यवसायबाट अन्यत्र लाग्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन्। सोचून् पनि कसरी? डेढ दशकदेखि यही व्यवसायमा जमेका उनको आम्दानीको एकमात्र स्रोत यही थियो भने नेपालमा पर्यटन व्यवसायसँग सम्बन्धित गतिविधि बढिरहेको थियो।
सन् २०२० नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै थियो। त्यसबाहेक अन्य गतिवधि त छँदै थिए।
कोरोना महामारीका कारण विश्वभर पर्यटन व्यवसाय ठप्प भयो। नेपालमा पनि विदेशी पर्यटक आउनै छाडे। चिनियाँलाई पर्यटकीय स्थलको भ्रमण गराउने राकेशको दैनिकी बन्द भयो। तर उनी निराश भएनन्, अर्कै व्यवसायमा स्थापित भइसकेका छन्। उनी भन्छन्, ‘एकतिर विफल भएँ भनेर घरमै बसिरहेको भए अहिलेसम्म अवस्था कस्तो हुन्थ्यो होला?’
एउटा क्षेत्रमा स्थापित उनलाई व्यवसाय परिवर्तन त्यति सहज त थिएन। तर राकेशले व्यवसाय परिवर्तन गर्न अठोट गरिहाले।।
खानेपानी विज्ञ राजेश महर्जनसँग मिलेर पानी फ्याक्ट्री सञ्चालन गर्ने निर्णय भयो। त्यसपछि ललितपुरस्थित टौखेलमा एउटा पानी फ्याक्ट्री लिजमा लिए। अहिले त्यही फ्याक्ट्रीबाट उनीहरूले आम्दानी गरिरहेका छन्।
पर्यटन व्यवसायमा आबद्ध अधिकांश बेरोजगार छन्। तर राकेशको व्यस्तता बढेको छ। जस्तोसुकै महामारी आए पनि पानी व्यवसाय बन्द नहुनेमा उनी ढुक्क छन्।
‘पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन लामो समय लाग्छ। बेरोजगार बसेर बाँच्न सकिँदैन। केही काम त गर्नैप¥यो’, राकेशले भने, ‘बाँच्नका लागि पानी नभइनहुने भएकाले सुरक्षित देखेर यो व्यवसायमा हात हालेका हौं।’
राजेश पानी परीक्षणलगायतका काममा प्रायः बाहिरै हुन्छन्। फ्याक्ट्रीको सबै जिम्मेवारी राकेशलाई छ। उनी पाटनबाट बिहानै टौखेलस्थित फ्याक्ट्रीमा पुग्छन्। दिनभर काम गर्छन् र बेलुकी घर फर्किन्छन।
अब यो व्यवसाय कसरी फस्टाउने भनेर उनी चिन्तन गरिरहन्छन्। सुतेको समयबाहेक अरु बेला पानीको गुणस्तर बढाउन र व्यवसाय फस्टाउनमै केन्द्रित हुने गरेको उनले बताए।
‘पानी व्यवसायमा निकै प्रतिस्पर्धा छ’, राकेशले भने, ‘हामी उपभोक्तालाई कसरी गुणस्तरीय पानी दिन सकिन्छ भनेर लागिपरेका छौं।’
पानी विशेषज्ञ राजेशले ट्रिगुन फ्याक्ट्रीबाट उत्पादित पानी गुणस्तरीय रहेको दाबी गरे।
फ्याक्ट्रीमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। लकडाउनका बेला पनि पानी उत्पादन जारी रहेकाले कामदाराई आर्थिक रुपमा खासै गाह्रो नभएको उनले सुनाए।
‘आफूहरु बेरोजगार बने पनि साथीले व्यवसाय सुरु गरेको देख्दा खुसी लागेको छ’, राकेशका पर्यटन व्यवसायी साथी विजय अवाडेले भने, ‘कहिलेकाहीं फ्याक्ट्रीमै पुगेर साथीलाई हौसला दिन्छौं।’
रोकेशले पर्यटन क्षेत्रकै लागि आफ्नो अध्ययन केन्द्रित गरेका थिए। जापानी भाषामा डेढवर्षे डिप्लोमा गरे। जापान जान प्रयास गर्दा सफल हुन सकेनन्। चिनियाँ भाषा सिके र चिनियाँ पर्यटक घुमाउन थाले।
१० वर्ष टुरिस्ट गाइड रहेका राकेशले दुई वर्ष जति ट्रेकिङको काम गरे। पर्यटन व्यवसाय ०७२ सालको भूकम्पछि खस्किएको उनको अनुभव छ। कारोनाका कारण व्यवसाय ठप्पै भएको छ।
‘सुरुमा राम्रो प्रतिफल नपाइएला तर, बिस्तारै राम्रो हुने आस छ’ राकेशले भने, ‘निकट भविष्यमै एक लिटरको मिनरल वाटर पनि उत्पादन गर्ने योजना छ।’ फ्याक्ट्रीमा दैनिक चार सय जार पानी उत्पादन हुन्छ।